Logo

Hello NEw

स्थानीय तहका लागि आवश्यक कर्मचारी सङ्घीय लोक सेवा आयोगले पूर्ति नगर्ने



काठमाडौँ, कात्तिक १० गते । स्थानीय तहका लागि आवश्यक करिब १३ हजार कर्मचारी अब प्रदेश लोक सेवा आयोगले नै पूर्ति गर्ने भएको छ । प्रदेश लोकसेवा आयोग बन्ने क्रम जारी भएकाले स्थानीय तहका लागि आवश्यक करिब १३ हजार कर्मचारी सम्बन्धित प्रदेशले नै पूर्ति गर्ने भएको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका लागि आवश्यक कर्मचारी अब सङ्घीय लोक सेवा आयोगले पूर्ति नगर्ने जनाएको छ ।

जेठमा भएको विभिन्न पदको लोक सेवा आयोगबाट अहिले नतिजा आउने क्रम जारी छ । आगामी मङ्सिरभित्र विज्ञापन गरिएका नौ हजार ६६२ पद नै पूर्ति हुने मन्त्रालयले जनाएको छ । संविधान र स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहका लागि आवश्यक कर्मचारी प्रदेश लोक सेवा आयोगले पूर्ति गर्ने उल्लेख गरिएको छ । अहिले पनि मन्त्रालयमा ५५ वटा स्थानीय तहले करिब तीन सयवटा पदमा विज्ञापन गरी कर्मचारी पूर्ति गर्न निवेदन पठाएका छन् । उक्त स्थानीय तहले मन्त्रालयमा पठाएका विज्ञापनमा पनि सम्बन्धित प्रदेश लोक सेवा आयोगले नै पूर्ति गर्नेछन् ।

कर्मचारी समायोजन ऐनपछि स्थानीय तहमा ठूलो सङ्ख्यामा कर्मचारी अपुग भएकाले यस वर्षभित्र सबै कर्मचारी पूर्ति गरिने मन्त्रालयले जनाएको छ । सरकारले स्थानीय तहको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्दा स्थानीय तहमा २३ हजार कर्मचारी अपुग हुने जनाएको थियो । सरकारले कर्मचारी समायोजन क्रममा भने तीनै तहमा गरी ९८ हजार ५६८ जना कर्मचारी समायोजन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्