Hello NEw
हराउँदै तिहारको मौलिकता
काठमाण्डौं, कात्तिक १० गते । चारैतिर खेतबारी र आँगनमा ढकमक्कै फुलेका सयपत्री र बैजनी रङका मखमली फूलले तिहारको मौसम लिएर प्रकृतिलाई झपक्कै सिँगारिदिएका छन् । बिजुली बत्तीको झिलीमिली उज्यालोले रातलाई पनि दिनजस्तै बनाइरहेको छ ।
तर प्रकृतिसँग मानिस रम्ने चाड तिहारको मौलिकता भने हराउँदै गएको देखन्छ । युवापुस्ता आयातीत संस्कृतिको प्रभावमा पर्दै गएपछि सांस्कृतिक विरासतका मौलिक चाडपर्वले आफ्नो मौलिकता गुमाउँदै गएको आभास गराउँछ ।

माटाको दियोबाट मैनबत्ती हुँदै बिजुलीको झिलीमिलीमा तिहार पहिलापहिला माटाको दियो र अमिलाको पातमा बत्ती बालेर जिम फाल्ने चलन हराएको छ । घरको मूलढोका, सहायक ढोका, आँगनको डिल, तुलसीको मोठ, धनसार, गोठ, जुठेल्नो जतातलै बत्ती बालेर जिम फाल्ने चलन थियो । तर अहिले जताततै बिजुली बत्ती बालेर उज्यालो बनाइने गरिन्छ । हामीलाई यसबाट मनोरञ्जन त प्राप्त हुन्छ तर जिम फाल्ने विधान र तिहारको मौलिकता हुँदैन ।
यसरी नै सास्कृतिक पहिचान मासिदै जाने हो भने माटाको दियो, अमिलाको पात र मैनबत्ती हुँदै अहिले बिजुलीको झिलीमिली बत्तीमा मनाइने तिहारको मौलिकता कुनै चिजमा पनि बाँकी रहला भन्न सकिन्न ।
पहिलापहिला दियो माटोको हुन्थ्यो । अचेल बालिने कृत्रिम बत्तीका कारण मौलिकता कतै गुम्यो कि भन्ने महशुस गराउँछ । अचेल माटोको पाला पूजाकोठामा मात्रै सीमित भएको छ । माटोको दियोपछि मैनबत्ती र मैनबत्तीलाई उछिन्दै बिजुली बत्तीमा अहिलेको तिहार भुलेको छ ।
दिदीबहिनीको बेफुर्सदिलो समयको प्रभाव पनि परेको छ तिहारको मौलिकता माथि । फूल, खोज्ने, माला गाँस्ने, भाइमसला बनाउने, खाना परिकार तयार गर्ने र समग्रमा तिहारको रौनक बढाउने प्रमुख भूमिका दिदीबहिनीको नै रहन्छ तर अचेल बाहिराबाट उनेर ल्याएको मालासंगै कयौं प्लास्टीकको नककली माला र बजारमा प्याक गरेर राखिएका भाइमसलाले दिदीबहिनीले काम चलाउने गरेका छन् ।
यस्तै हो भने केही वर्षपछि लोकबाजा र भैलीको मोलिकता हराउने निश्चित छ । अब ती सबै कुरा एकादेशका कथामा परिणत हुँदै गएको छ । तिहारको मौलिकता हराउँदै गयो र आयातीत संस्कृतिले फस्टाउने मौका पायो ।”
