Hello NEw
खेलकुद ला लिगा: रियल मड्रिड दोस्रो स्थानमा उक्लियाे

काठमाडौं, १४ कार्तिक । स्पेनिस ला लिगामा रियल मड्रिड दोस्रो स्थानमा उक्लिएको छ । रेलिगेसन जोनको लेगानेसलाई पाँच-शून्य ले हराउँदै रियल मड्रिडले शीर्ष स्थानको बार्सिलोनासँगको दूरी एक अंकमा झारेको छ ।
शीर्ष स्थानको बार्सिलोनाको १० खेलबाट २२ अंक छ भने रियल मड्रिडले समान खेलबाट २१ अंक पुगेको छ ।सान्टियागो बर्नाबाउमा भएको खेलमा रोड्रिगोले सातौँ मिनेटमा र टोनी क्रुजले आठौँ मिनेटमा गोल गर्दै रियल मड्रिडलाई सुरुमै दुई गोलको अग्रता दिलाएका थिए । २४औंँ मिनेटमा सर्जियो रामोसले पेनाल्टीमा गोल गर्दा रियलले पहिलो हाफअघि ३–० को अग्रता लियो ।
६९औंँ मिनेटमा रियलले अर्को पेनाल्टी पायो, जसलाई करिम बेन्जेमाले गोलमा परिणत गरे । इन्ज्युरी समयमा लुका जोभिचले गोल गर्दै रियल मड्रिडलाई पाँच-शून्य को जित दिलाए ।
ला लिगामा सेभिया भ्यालेन्सियासँग एक-एक गोलको बराबरीमा रोकिँदा र रियल सोसियडाड लेभान्टेसँग आफ्नै मैदानमा दुई-एकले हार्दै दोस्रो स्थानमा उक्लिने मौका गुमाउन पुगेकाे छ । यस्तै एथ्लेटिक बिल्बाओले एस्पान्योललाई तीन-शून्यले हरायो भने रियल बेटिसले सेल्टा भिगोमाथि दुई-एक को जित निकाल्यो ।
