Logo

परीक्षामा लेखनलाई प्रभावकारी बनाउने तरिका



नेत्र सुवेदी “प्रयास”

पोशाक सफा र सजिलो तथा खुशी अनुहारका साथ प्रवेश पत्र तथा लेख्ने कलम वा डटपेन तथा स्केलसहित समयमै परीक्षा हलमा पुग्ने र आफ्नो सिटमा बसी परीक्षाको परिवेशलाई आफ्नो बनाउने।

प्रश्नपत्र प्राप्त हुनासाथ सवै प्रश्नलाई सरसर्ति पढ्ने र केही Key words सम्झनामा आयो भने प्रश्नको नजिकै टिपोट गर्ने र प्रश्नमा रहेका ज्यादा महत्वपूर्ण वाक्य वा शव्द (समूह) लाई अन्डरलाइन गर्ने ।

सबै प्रश्नलाई औसतरुपमा बराबर समय छुट्याउने तर सबभन्दा बढी आउने प्रश्नको उत्तरबाट जवाफ दिन शुरु गर्ने । उत्तर लेख्दै जाँदा समय वचेको वा मिचेको ख्याल गर्दै सन्तुलन मिलाउदै जाने ।

प्रश्नले के मागेको हो ?  प्रष्ट बुझेर अनि मात्र उत्तरलाई कुन ढाँचामा लेख्ने हो योजना गर्दै उत्तर तयार गर्दै  जाने ।

सोधिएको प्रश्नको मूल सबाल/शीर्षकभित्र रहेर आफ्ना तर्क वा पुष्ट्याइका आधारहरु उपलव्ध गराउनुपर्ने हुन्छ । कम महत्वपूर्ण र प्रश्नले माग नगरेको पक्षमा प्रवेश नै नगर्ने । उत्तरमा Key words को प्रयोग गर्ने जस्तो कि सेवा प्रवाहको सम्वन्धमा नागरिक निगरानी तथा पृष्ठपोषण ।

प्रश्नले माग गरेको विषयवस्तुको पक्ष, गहिराई वा दायरालाई बुझ्नु अत्यन्तै आवश्यक छ । जस्तै : मूल्यांकन गर्नुहोस् भन्दा राम्रा नराम्रा पक्षको वारेमा आफ्ना विचार राख्नुपर्दछ भने विवेचना गर्नुहोस् भनेको अवस्थामा सोही विषयमा विभिन्न दृष्टिकोणबाट चर्चा गर्नुपर्ने हुन्छ ।

सबै प्रश्नको जवाफ लेखिसकेपछि समय मिलेसम्म प्रश्नसंख्या र उत्तरपुस्तिकाको क्रम मिलेनमिलेको हेर्ने  र त्यति गर्दा पनि समय वचत भयो भने लेखिएका उत्तरहरु हेर्दै जाँदा तत्काल देखिएका त्रुटी सच्याउने वा छुटेका सानातिना प्रशंग थप गर्ने ।

उत्तर लेख्दा थप आकर्षक वनाउनका लागि चित्र वा फर्मुला वा सान्दर्भिक प्रशंग वा प्राशंगिक घटनालाई जोड्न सकिन्छ । तर सबै उत्तरमा उल्लेखित कुरा खोज्नतर्फ लागेमा समयपालना नहुन सक्छ ।

अन्तरसम्वन्ध विश्लेषण सम्वन्धी प्रश्नमा कुन कुन विषयवीच सम्वन्ध केलाउने हो ?  प्रष्ट हुन जरुरी हुन्छ । जस्तो कि दिगो विकासका पक्षहरुका रुपमा आर्थिक, सामाजिक र वातावरणीय पक्षहरु,  वर्तमान संविधानले उठाएका वृहत सवालहरुमा संघीयता, समाजवाद र समृद्धि, सेवाप्रदायक र सेवाग्राहीवीचको सम्वन्ध जस्ता विषयहरुलाई सिद्धान्त र व्यवहारको कसीमा व्याख्या गर्दै उत्तरलाई खँदिलो वनाउने प्रयत्न गरिनुपर्दछ।

प्रतिक्रिया दिनुहोस्